बैठककाे निर्णयलाई सबैले स्वीकार्नुपर्छ, याेभन्दा राम्राे प्रस्ताव अरु हुन सक्दैन: अध्यक्ष ओली


काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नु पर्ने बताए ।

भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई आज आइतवार सम्बोधन गर्दैै उनले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नु पर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, ‘हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ, कसैलाई जिम्मेवारी पुगेन भने उचित जिम्मेवारी दिनेछौँ ।’

केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई नाै सय जनाको नाम आएको बताए । पोलिटब्युरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ट छान्न गाह्रो भएको उनले बताए ।

लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उनले नेतृत्वसँग देशभरिलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबैभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताए।

अध्यक्ष ओलीले बैठकको निर्णयलाई सबैले स्वीकार्नु पर्नेमा जोड दिँदै कतिपयलाई अन्याय पर्‍याे होला तर योभन्दा राम्रो प्रस्ताव अरू हुन नसक्ने बताए केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया