सरुवामा भूमिका नरहेको भन्दै भूमी सुधारका सह–सचिव जोशीको ५ बुँदे खण्डन


काठमाडौं– भूमी सुधार तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव जनकराज जोशीले मन्त्रालय अन्तर्गतका सरुवामा आफ्नो कुनै भूमिका नहुने भन्दै अनलाइनन्युजलाई ५ बुँदे खण्डन पठाएका छन्।

उनले ‘मन्त्री नहुँदा सह–सचिवको मनोपोली, जोशीले करोडौंमा गरे सरुवा’ शीर्षकको समाचारमा आफूसँग कुनै पनि प्रतिक्रिया नलिएको भन्दै चोट पुगेको उल्लेख गरेका छन्। ‘जोशीसँग सम्पर्क हुन सकेन’ भन्ने अनलाइनन्युजको जिकीरको प्रतिक्रियामा उनले सँधै टेलिफोन सम्पर्कमा हुने गरेको दाबी गरेका छन्।

यस्तै समाचारमा आएको विषयमा छानबिन गर्न सकिने र दोषी देखिए कारबाही गर्ने व्यवस्था समेत रहेको उल्लेख गरेका जोशीले राष्ट्रसेवक कर्मचारीको प्रतिष्ठामा आँच आएको पनि उल्लेख गरेका छन्।

आफ्नो दाबीबारे जोशीले पठाएको पत्रमा भनिएको छ–

१.  सामान्यतया सरुवा गर्ने कार्य सम्बन्धित बिभागहरूको हो।

२. मन्त्रालयले गर्नु पर्ने सरूवाहरू कर्मचारी प्रशासन महाशाखाको सिफारीशमा मन्त्रालयको सचिवले गर्ने गर्दछ।

३. म योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा काम गर्दछु, सरूवा गर्ने कार्यमा मेरो संलग्नता रत्तिभर हुदैन ।यस कार्यमा मेरो चासो पनि छैन र संलग्नता पनि छैन।

४. उल्लिखित खबरमा म कर्मचारी प्रशासन महाशाखामा कार्यरत भनेर झुटो व्यहोरा उल्लेख भएको छ।साथै नापी तथा मालपोत कार्यालयहरूमा बसेको भन्ने झूटो बिवरण लेखिएको छ।म हालसम्म कुनै मालपोत कार्यालय वा नापी कार्यालयमा बसेको छैन र बिगत १४ बर्षदेखि नापी बिभाग वा अन्तर्गतका समेत काम गरेको छैन।

५. समाचार प्रकाशन गर्ने सम्बन्धमा मेरो कुनै प्रतिकृया लिइएको छैन, मेरो फोन अफ भएको कपोलकल्पित कुरा उल्लेख छ । मेरो फोन कुनै पनि समय बन्द रहदैन।

प्रतिक्रिया