काँग्रेसमा कोइराला परिवारः आफ्नो स्वार्थको लागि पद खोज्दा तितरबितर!


काठमाडौं – कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाको समयको चर्चित राजनीतिक परिवार हो। यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काँग्रेस पार्टीसँग आबद्ध थिए–छन्।

मातृकाप्रसाद कोइराला, वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्वमा रहे। जसमध्ये मातृका, वीपी र गिरिजा कृष्णप्रसाद कोइरालाको छोरा हुन् भने सुशील नातेदार हुन्।

चारैजना नेपालको प्रधानमन्त्री बने। मातृका (वि.सं. २००८–२००९, वि.सं.२०१०–२०११), वीपी (वि.सं. २०१६–२०१७) र गिरिजा वि.सं. २०४८–२०५१, वि.सं. २०५४–२०५५, वि.सं. २०५५–२०५६, वि.सं. २०५६–२०५८, वि.सं. २०६३–२०६५ नेपालको प्रधानमन्त्री बनेका थिए।

त्यस्तै सुशील वि.सं. २०७० माघ २८ गतेदेखि २०७२ असोज २४ गतेसम्म नेपालको प्रधानमन्त्री बने। असन्तुष्टिका बाबजुद पनि उनीहरु सधैँ एकढिक्का हुन्थे। तर, चारैजनाको निधन भइसकेको छ।

नेपाली काँग्रेसको राजनीतिको केन्द्रमा सधैं कोइराला परिवार अगाडि देखिन्थ्यो र अहिले पनि देखिन्छ। २०४६ सालको जनआन्दोलनपछि गिरिजा र सुशील पार्टी सभापति बने।

कोइराला परिवारलाई सबैभन्दा एकजुट बनाउन गिरिजाले भूमिका खेले। त्यसअघि कोइराला परिवार टुटफुटको अवस्थामा थियो। गिरिजाले मात्र नभएर सुशीलले पनि त्यो परिस्थिति निर्माण गर्न सके।

पार्टीको महाधिवेशनमा कोइराला परिवार सधैं हावी हुन्थ्यो। कोइराला परिवारको मत निर्णायक हुन्थ्यो। त्यसैले कोइराला परिवारको साथमा चुनावमा जाँदा जितिन्थ्यो।

अब प्रसंगतर्फ जोडिऔं

कोइराला परिवार एकढिक्का हुँदा पार्टीको १२ औं महाधिवेशनमा सुशील सभापतिमा निर्वाचित भए। सुशीलको निधनपछि शेरबहादुर देउवा पार्टीको १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भए। सो महाधिवेशनमा कोइराला परिवारका सदस्य एकढिक्का भएका थिए।

डा. शशांक कोइराला महामन्त्रीमा उठ्दा सुजाता कोइराला र डा. शेखर कोइराला केन्द्रीय सदस्यमा उम्मेदवार बनेर जिते। शशांक देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार थिए। जतिबेला देउवाको टिमलाई कोइराला परिवारको सहयोग थियो।

डा. शशांक, शेखर र सुजता कोइराला परिवारको उत्तराधिकारीको रुपमा चिनिन्छन्। उनीहरुलाई आफ्नो बाउबाजेको बिरासतलाई जोगाउन त्यति सहज छैन्। त्यसैले उनीहरुबीच एकता आवश्यक छ।

मातृका, वीपी, गिरिजा र सुशीलको विरासतलाई जोगाउनुपर्ने भन्दै उनीहरु सँगसँगै एउटै कार्यक्रममा पुग्छन्। जतिबेला उनीहरुले ‘कोइराला परिवार एकजुट रहेको’ दाबी गर्थे। देख्दा लाग्थ्यो पनि उनीहरु एकजुट छन्।

तर, पार्टीको १४औं महाधिवेशनमा पुग्दा कोइराला परिवार एउटै प्यानलमा देखिएका छैनन्। उनीहरु तितरवितर भएका छन्। आफ्नो स्वार्थको लागि उनीहरु तीनैजनाले एकअर्काको साथ छाडेका छन्। सोझो भाषामा भन्दा कोइराला परिवार यतिबेला फुटेको छ।

शनिबार संस्थापनइतर समूहका प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्दा कोइराला परिवारकी सदस्य सुजताले सिंहलाई समर्थन गर्न पुगिन्। सिंहको टिमबाट सुजताले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कोइराला परिवार एकजुट नरहेको सन्देश सुजताले उपसभापतिमा दिएको उम्मेदवारीले पुष्टि गरेको हो।

त्यस्तै १३ औं महाधिवेशनमा शशांकलाई महामन्त्रीमा सहयोग गरेका शेखर समेत आफ्नो छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। शेखर सभापति उठ्दा सुजाता सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् भने यसअघि महामन्त्री जितेका शशांकले केन्द्रीय सदस्यमा चित्त बुझाउनु परेको छ।

यतिबेला तीनैजनाको प्यानल फरक भएको छ। शशांक केन्द्रीय सदस्यको उम्मेदवार बनेपनि उनको नाम पार्टी सभापति रहेका शेरबहादुर देउवाको टिमबाट रहने बुझिएको छ। देउवा पनि छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा होमिएका छन्।

शेखर, सुजाता र शशांक तीनैजना एउटै उमेरका हुन्। तीनैजनाले आफ्नो स्वार्थको लागि पद खोज्दा फरक प्यानलमा पुगेको उनीहरुनिकट कांग्रेसका एक केन्द्रीय सदस्यले बताए। उनले भने, ‘कोइराला परिवार यसपटक फरक प्यानलमा हुनुमा सबैले मान्ने नेता नदेखिनु कारण हो।’

महाधिवेशन आउनु एक महिनाअघि तीनैजनाले आफू पार्टी सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका थिए। सभापतिमा उम्मेदवार दिएका शेखरले सुजता र शशांकलाई पदाधिकारीमा राख्न तयार नभएपछि यस्तो अवस्था आएको ती केन्द्रीय सदस्य बताउँछन्।

अलग–अलग प्यानलमा रहेका कोइराला परिवारको शक्ति परीक्षण यो महाधिवेशनमा देखिने भएको छ। यो आफैंमा पनि एउटा महत्वपूर्ण पक्ष हो। नेपाली काँग्रेसको राजनीतिमा मात्र नभएर देशको राजनीतिमा शक्तिशाली कोइराला परिवार फुट्नुभन्दा जुट्नु आवश्यक छ।

प्रतिक्रिया