

कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवारः विनोद चौधरीदेखि राजु गोर्खालीसम्म
उद्योगपति, अधिवक्ता, पत्रकार, प्राध्यापक, गायक, म्यानपावर व्यवसायी र गुण्डा नाइकेबाट उम्मेदवारी दर्ता !

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले उम्मेदवारी दर्ता गरिसकेका छन् । केन्द्रीय सभापतिको दाबेदारी गर्दै आएका बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी नदिने र मतदान पनि नगर्ने घोषणा गरेजस्तै धेरै आकांक्षीहरु पछि हटेका छन् ।
लामोसमयदेखि कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिको दाबेदारी गर्दै आएका बीपी पुत्र शशांक कोइराला केन्द्रीय सदस्यमै सीमित रहेको अवस्थामा पुराना गुण्डा नाइके राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खालीले पनि केन्द्रीय सदस्य खुल्लातर्फ उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका गोर्खाली यसअघि गुण्डागर्दी तथा हत्याको आरोपमा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।
नेपाली कांग्रेस निर्वाचन समितिका अनुसार खुल्ला केन्द्रीय सदस्य तर्फको ३५ पदका लागि ११० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पदाधिकारीमा नअटाएपछि कांग्रेसका बरिष्ठ नेताहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा। रामशरण महतदेखि लिएर अन्य क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
पत्रकार अजयबाबु शिवाकोटी, अधिवक्ता आनन्दसन्तोषी राई, म्यानपावर व्यवसायी तिलकबहादुर रानाभाट र सीता देवी देवकोटा पाण्डे, गायक विमलराज क्षेत्रीले समेत कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै काठमाडैं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले पनि जनजाति महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।
त्यस्तै निर्माण व्यवसायी जिपछिरिङ लामा, उद्योगपति विनोद चौधरी, त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक डा। तीर्थराज खनियाँले पनि उम्मेदवारी दिएका छन् ।
त्यस्तै गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले पनि गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै नेपालका प्रथम राष्ट्रपति रामबरण यादवका पुत्र डा. चन्द्रमोहन यादवले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुगिसकेका कुन्दनराज काफ्ले, नैनसिंह महरा, मनोजमणि आचार्य, प्रतिमा गौतमले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

