रामचन्द्र पौडेलको हुटहुटीः घरबाट एक्लै निस्केपछि कार्यकर्ताहरु पछि–पछि!


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल हरेकदिन बिहान मर्निङ वाक जान्छन्। शनिबार बिहान पनि वाक निस्किने तयारी गरिरहेका थिए पौडेल।

तर, पौडेल वाक निस्किनुअघि आफ्ना नेता/कार्यकर्ता बोहोराटारस्थित निवास पुगे। त्यसपछि उनी छलफलमा जुटे। यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चटारो छ।

लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको उम्मेदवारको टुंगो लाग्न सकिरहेको छैन। सभापतिको उम्मेदवारको विषयमा छलफल गर्न बिहानै नेताहरु पौडेल निवास पुगेका हुन्।

छलफलमा रक्षामन्त्री समेत रहेका कांग्रेस नेता मिनेन्द्र रिजाल, कानुनमन्त्री दिलेन्द्र बडु, नेताहरु अर्जुन नरसिंह केसी, गगन थापा, बद्री पाण्डे, काठमाडौं जिल्ला सभापति सबुज बानियाँलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

नेताहरु पौडेल निवासमा छलफलमा रहेको थाहा पाएपछि कार्यकर्ताहरुको समेत बोहोराटार आवतजावत बढ्न थाल्यो। पौडेल निवासमा कार्यकर्ताहरुको भीड लागिसकेको थियो।

करिब २ घण्टाको लामो छलफलपछि बरिष्ठ नेता पौडेल बाहिरि निस्किए। कार्यकर्ताहरु पौडेल भएतिर लम्किए। गलबन्दीसहित लङ कोट लगाएर निस्किएका पौडेलको अनुहार मलिन देखिएको थियो।

पौडेलको मनमा एकखालको हुटहुटी थियो। सबैले नमस्कार गरिरहँदा पौडेलले पनि दुई हात जोड्दै नमस्कार फर्काउँदै गार्डेनतिर लम्किए। त्यहाँ पुगेपछि उनलाई सहयोगीले एउटा कुर्सी राखिदिए। त्यहि कुर्सीमा उनी बसे।

हातमा एउटा सानो कपीको टुक्रा लिएर बसेका उनले केही कुरा भन्न सुरु गर्नुअघि कार्यकर्ताहरुको ध्यान त्यतै केन्द्रीत थियो। उनले सुरुमा सबैलाई नम्बरकार गर्दै कुरा अघि बढाए। कार्यकर्ताहरु एकटक्कले उनको कुरा सुन्न थाले।

जतिबेला उनको आवाज पहिला बोल्नेभन्दा निकै कम सुनिएको थियो। मलिन स्वर लगाउँदै पौडेलले जारी हाधिवेशनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे। ‘मलाई साथीहरुले असहयोग गरे,’ पौडेलले भने, ‘त्यसैले सभापतिमा प्रतिस्पर्धा गर्दिन्। तर, कांग्रेसको राजनीतिबाट बाहिरिएको छैन्।’

पौडेलले त्यसो भनिरहँदा कार्यकर्ताहरु निराश हुन थाले। करिब ७ मिनेट बोलेका पौडेलले आफ्नो पक्षका नेताहरुबीच साझा उम्मेदवार बनाउन नसकेपछि आफू नै होडबाट बाहिरिएको जनाउँदै दोस्रो पुस्ताका नेताहरुलाई सहमति गर्न जिम्मा दिएको बताए।

‘चार जनामध्ये एकजना सभापतिको उम्मेदपार हुनुपर्यो भन्ने प्रयास गरियो तर सफल भइएन। अब यो होडबाट म बाहिरिएँ। म चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छु,’ उनले थपे, ‘आफू अहिले चुनावी प्रतिस्पर्धाबाट अलग्गिएको भए पनि राजनीतिबाट भने टाढा भएको छैन। साथमा हिँडेका नेताहरु अब आफ्नो सुरक्षा आफै गर्नुस्।’

महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेपछि पौडेल उठ्दै घरभित्र जान खोजे। तर, कार्यकर्ताले उनलाई घेरा हालेर प्रश्न गर्न थाले। तपाईंले किन यस्तो गर्नुभयो? एकपटक प्रकाशमान दाईलाई पो फकाउने कि?

एकछिन प्रकाशमान सिंहको प्रसंग जोडौं

संस्थापन इतर समूहबाट पौडेलसँगै सिंह र शेखर कोइरालाको नाम सभापतिमा चर्चा थियो। पोडेललाई साझा उम्मेदवार बनाएर अघि बढेको अवस्थामा कोइरालाले आफू ब्याक हट्ने संकेत दिइसकेका थिए।

तर, सिंह आफू कुनै पनि हालतमा सभापतिमा ब्याक नहट्ने बताएपछि पौडेलले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन्। सहमतिमा सभापतिको उम्मेदवारी दिने बताएको संस्थापन इतर समूहले अन्तिम समयसम्म पनि साझा उम्मेदवारमा सहमति जनाउन नसकेपछि पौडेल ब्याक भएका हुन्।

०००

ब्याक भएपछि नेता÷कार्यकर्ताले सिंहलाई एकपटक फकाउन आग्रह गरेका हुन्। कार्यकर्ताहरुले त्यसो भनिरहँदा पौडेलले केही भनेनन्। उनीहरुको कुरा सुनिरहे। केहीबेरमा घरभित्र छिरे।

अन्य नेताहरु भित्रै छलफलमा थिए। केही समयपछि नेताहरु रिजाल, बडु, केसी, थापा, पाण्डे, बानियाँलगायत सबैजना बाहिर निस्के। कार्यकर्ताहरुको एउटै प्रश्न थियो– एकपटक प्रकाशमान दाईलाई फकाउने कि? त्यसपछि गगन थापा, बद्री पाण्डे र सबुज बानियाँ सिंह निवासतिर गएका छन्।

नेताहरु बाहिरिएपछि बरिष्ठ नेता पौडेल मलिन अनुहारमा घरबाहिर निस्किए। कोही कसैसँग केही नबोली उनी गेटबाट पनि बाहिर निस्के। गेटबाट एक्लै पर जान थालेपछि बडिगार्ड पौडेलको पछि–पछि लागे।

पौडेल एक्लै निस्केको देखेपछि कार्यकर्ताहरुको मनमा चिसो पसेछ। ‘कतै केही गरिहाले भने त तनाव पो हुन्छ। यस्तोबेला एक्लै छाड्न हुन्न। हामी पनि जाने हो कि?’ यस्तै कुराहरुमा एकछिन बहस चल्यो। कार्यकर्ताहरु पनि चोकसम्म पछि–पछि लागे।

तर, कार्यकर्ताहरुले सोचेको जस्तो होइन रहेछ। पछिमात्र थाहा भयो बिहानै मर्निङ वाक निस्किन नपाएपछि पौडेल एकछिन बाहिर निस्किएका रहेछन्। पौडेलको घरनजिकै किराना पसल सञ्चालकका अनुसार पौडेल बिना सुरक्षागार्ड कोहीबेला एक्लै वाक निस्किन्छन्।

पौडेल वाक जाँदा कार्यकर्ताहरु उनी आउने अपेक्षामा महाधिवेशनबारे कुरा गरेर बसिरहे। धेरैले प्रकाशमान सिंह र शेखर कोइरालाको प्रसंग कोट्याइरहेका थिए। ‘आफ्नै भनेकाले धोका दिएपछि कसको के लाग्दो रहेछ र?’ एकजना कार्यकर्ताले भने, ‘पहिला शेखरले पनि सभापतिमा हजुर नै हो भनेका थिए रे। अहिले आएर सिंह ब्याक नहटेपछि कोइरालाले पनि सहमति नगरेको कुरा छ।’

यदी बरिष्ठ नेता पौडेललाई नै अघि सार्ने कुरामा कोइरालाले पनि सहमति जनाइदिएको भए माहौल छुट्टै बन्नसक्ने ती कार्यकर्ताको भनाइ छ। ‘प्रकाशमान पछि हटेन भनेर पहिला सभापति तपाई नै भन्दै आएका कोइराला आफू पनि दाबी गर्ने हो भन्दै हल्ला गर्नु सुहाउने कुरा हो,’ प्रश्न गर्दै ती कार्यकर्ता आक्रोश पोखेका थिए।

यस्तो यस्तो कुरा गर्दागर्दैमा वाक निस्किएका पौडेल आइपुगे। कार्यकर्ताहरुसँग केही नबोली उनी घरभित्रै छिरे। यहिँबाट बुझ्न सकिन्छ, पौडेलको हुटहुटीले कार्यकर्तामा एकखालको निराशा पैदा भएको छ।

१४ औं महाधिवेशनमा सभापतिमा नउठे पौडेलको ७५ वर्ष लामो राजनीति सकिएको कार्यकर्ताको बुझाइ छ। त्यसैले उनीहरुको माग छ– एकपटक पौडेललाई सभापति बनाएर कांग्रेसलाई जनताको पार्टी बनाउने।

प्रतिक्रिया