एमसीसी इन्डोप्यासिफिक र सैन्य परियोजना होईनः प्रवक्ता डा. महत


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले एमसीसी इन्डोप्यासिफिक परियोजना नभएको बताएका छन् । नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै महतले एमसीसी इन्डोप्यासिफिक र सैन्य परियोजना नभएको बताए ।

एमसीसीको बारेमा जनतामा भ्रम सृजना गर्ने काम भइरहेकोले मिडियाले वास्तविक विषयमा छलफल बहस चलाउनुपर्ने प्रवक्ता डा. महतको भनाई छ । ‘एमसिसी नेपालजस्ता विकाशोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना हो । सरकार यसको पक्षमा छ । सत्तासाझेदार सबै दल एमसिसी परियोजना अघि बढाउन लागेका छन् । कसैको पनि असहमति छैन’ उनले भने  ‘केपी ओली नेतृत्वको सरकारको पालामा समेत एमसिसी संसदमा लिने सहमति गरिएको हो ।’

उनका अनुसार एमसीसी नेपालको हितमा रहेको र नेपालकै कानुन अनुसार संचालन हुने परियोजना हो । अनावश्यक रुपमा भ्रम छर्ने काम भएका कारण एमसीसी पारित गर्न मुस्किल भएको महतले बताए ।

‘एमसीसी जस्तो राष्ट्रिय मुद्दामा संसदमा छलफल हुनुपर्छ । बुँदागतरुपमा छलफल हुन्छ । संसदमा टेबल गर्नु सभामुखको जिम्मेवारी हो । संसदबाट नै दूधको दूध पानीको पानी छुट्टिन्छ,’ – प्रवक्ता डा. महतले भने ।

प्रतिक्रिया