‘गुन्डा नाइके’ गिरीलाई मोरङ कारागार चौकीदारको जिम्मेवारी


काठमाडौं – अभिषेक गिरीलाई मोरङ कारागारको जिम्मेवारी दिइएको छ। ‘गुन्डा नाइके’ छवि बनाएका कैदी गिरीले मोरङ कारागारको चौकीदारको जिम्मेवारी पाएसँगै सर्वत्र आलोचना भएको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सरकारको दबाबमा मोरङ कारागारको चौकीदारीको जिम्मेवारी दिइएको स्रोतले बतायो।

जेलर महेन्द्रसिंह खड्काका अनुसार गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको छ। ९ मंसिरमा उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार लगिएको थियो।

गिरीलाई विराटनगर आउन नदिन कैदी बन्दीहरूले प्रदर्शन तथा आन्दोलन गरेका थिए । गिरीलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागारमा स्थानान्तरण गरिएको थियो।

स्रोतका अनुसार नेपाली कांग्रेसका नेताको लबिइङ र गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीसहितको समूहलाई मोरङ पठाइएको हो। अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गिरीका सहयोगी राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि मोरङ कारागार सरुवा गरिएको हो।

गिरीको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्न थालेका छन्। उनीमाथि कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप छ।

गत १७ भदौमा गिरीलाई विराटनगर पठाउने निर्णय भएपनि कैदीबन्दीहरुको विरोधका बावजुद गत १६ कात्तिकमा डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो। तर, विरोध चर्किँदै गएपछि गिरीलाई सप्तरी सरुवा गरिएको थियो। सप्तरी पठाएको १७ दिनपछि कारागार व्यवस्था विभागले विराटनगर पठाएको हो।

विराटनगर महानगरपालिका–११ घर भएका गिरी कांग्रेसका नेताहरुको संरक्षणमा अपराध गर्दै आएका गुन्डा नाइके हुन्।

प्रतिक्रिया