
कांग्रेस नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सर्लाही—४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
संस्थापनइतर समूहमा रहेका नेपाली कांग्रेसका युवा नेता सिंहको प्यानल पराजित भएको हो । प्रदेश–२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । वीरेन्द्र सिंहले ५१६ मत पाउँदै विजयी भएका थिए भने अमरेशकुमार सिंहले २४८ मत पाएका थिए । देशका अन्य वटा प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा भने मंगलबारबाट क्षेत्रीय अधिवेशन सुरु भएको हो ।
जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया अन्यौलमा परेको थियो । तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार चौथो निर्वाचन अधिकृत खटाएको थियो ।
चारवटा निर्वाचन क्षेत्र भएको सर्लाहीमा मंगलबार दुई वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने बाँकी दुईमा बुधबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।



कागजपत्र |
