हनुमन्ते खोला किनारको खेतमा एक युवकको शव फेला, हत्याको आशंका


भक्तपुर – भक्तपुरको बालकोटस्थित हनुमन्ते खोला किनार एक युवकको शव फेला परेको छ।

सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षीय राजन श्रेष्ठको शव सूर्यविनायक–२, बसीटोलस्थित बंगलामुखी सहकारी चोक नजिक हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो।

मृतकको टाउकोमा गम्भीर चोट लागेको छ। निधार नै कुच्चिने गरी कुनै रड जस्तो वस्तुले हिर्काएको जस्तो देखिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले बताए।

शव मंगलवार राति करिव १० बजे फेला परेको हो। मृतकको नीजि सवारी मध्यपुर थिमि–३ गठ्ठाघरमा फेला परेको प्रनाउ रेग्मीले जानकारी दिए। मृतकको शव मध्यपुर अस्पतालमा लगिएको छ।

घटनामा संलग्न भएको आशंकामा केहीलाई सोधपुछको दायरामा लिइएको प्रहरी स्रोतले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया