बागमती प्रदेश कांग्रेस अधिवेशन: मतदान सुरु, १० बजेसम्म तोकियो समय


हेटौंडा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । कार्यतालिकाअनुसार विहान ९ बजेबाट हुनुपर्ने मतदान उम्मेदवारी नामावली र मतपत्र प्रकाशनका कारण ढिलाइ भएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिए ।

मतदानका लागि राति १० बजेसम्मको समय निर्धारण गरिएको उनले बताए । प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेन दास प्रधान र जयदिश्वर नरसिंह केसीको उम्मेदवारी परेको छ । उनीहरूको प्यानल नै घोषणा गरेर मैदानमा उत्रिएकाे छ । प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्नेछ ।

यस्तै, प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेशीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसंख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको नयाँ समिति बन्नेछ ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेशन प्रतिनिधि एक हजार २ सय ४५ जना, प्रदेश प्रतिनिधि ८ सय ६७ जना र केन्द्रीय सदस्य १६ जना गरी दुई हजार १ सय ३७ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया