अब साढे १७ हजार प्रहरी एकैपल्ट बढुवा, कुन पदमा कति जना ?


काठमाडौं – सरकारले अब एकैपल्ट १७ हजार बढी प्रहरीको बढुवा गर्ने गरी प्रहरी नियमावली संशोधन गरेको छ । प्रहरी नियमावली संशोधन भएसँगै अब १७ हजार ५१७ प्रहरी बढुवा हुने बाटो खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले अब वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा पूर्ण रूपमा ज्येष्ठताका आधारमा बढुवा हुनेछन् । त्यसको गृहकार्य समेत सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संशोधित नियमावलीअनुसार अब सइको २५ प्रतिशत दरबन्दी वरिष्ठ सइमा रूपान्तरण हुनेछ । नेपाल प्रहरीमा सइको तीन हजार ९२८ दरबन्दी छ । अब ज्येष्ठताक्रममा रहेका ९८२ जना सइ वरिष्ठ सइमा रूपान्तरण हुनेछन् । यसरी बढुवा गर्दा उनीहरूको ग्रेड भने अहिलेकै कायम हुनेछ ।

सहायक हवल्दार र वरिष्ठ हवल्दारमा पनि यही नियम लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । ३० प्रतिशत हवल्दार र वरिष्ठ हवल्दारलाई पनि माथिल्लो पदमा कायम गरिएको छ । नेपाल प्रहरीमा हाज जवानको ४० हजार ५८२ दरबन्दी छ ।

जसअनुसार अब १२ हजार १७४ प्रहरी सहायक हवल्दारमा बढुवा हुनेछन् । त्यस्तै, चार हजार ३५५ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीमा हवल्दारको दरबन्दी १४ हजार ५१७ छ । संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया