एमाले महाधिवेशनमा ९ करोड खर्च!


काठमाडौं – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा छुट्याइएको रकमभन्दा बढी खर्च भएको छ। महाधिवेशन लम्बिँदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च भएको एमालेले जनाएको छ।

चितवनमा आयोजित एमालेको महाधिवेशनमा कुल ९ करोड बढी खर्च भएको छ। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार छुट्याइएको बजेटभन्दा डेढ करोड बढी रकम खर्च भएको छ।

१० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको तामाङले बताए। उनले भने, ‘नियमित तालिकाभन्दा दुई दिन बढी महाधिवेशन लम्बिएको छ। त्यसैले डेढ करोड थप खर्च भएको छ।’

महाधिवेशन लम्बिनु अप्रत्यासित भएको बताउँदै तामाङले भने, ‘हामीले जति टार्गेट गरेका थियौं निर्वाचन गर्नुपर्नाको कारणले अलि बढी खर्च बढाएको छ। पार्टीको अलि राम्रै रकम खर्च गर्नु परेको छ। अनुमानमा एक करोड २५ लाखदेखि डेढ करोडसम्म बढी खर्च भएको छ।’

बिल नआइसकेकाले खर्चबारे अझै एकिनका साथ भन्न नसकिने तामाङले बताए। त्यस्तै तामाङका अनुसार ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको थियो।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो।

प्रतिक्रिया