कतारद्वारा नेपाललाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयाेग


काठमाडाैं – कतार सरकारले कोरोना महामारीबाट जाेगिन नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीकाे पहलमा ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको कतार फण्ड फर डेभलपमेन्टले जनाएको छ ।

टर्किस एयरलाइन्सबाट काठमाडौं पठाइएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल-मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. रायमाझीले कतार सरकारलाई धन्यवाद दिँदै सबै भेन्टिलेटरहरू अतिआवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउने बताए । यसअघि पनि कतारले नेपाललाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो । साथै कोभ्याक्स कार्यक्रममार्फत् कोरोनाविरुद्दको खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया