कोटेश्वरबाट तास खेल्ने ५ जना नगदसहित पक्राउ


काठमाडौं – कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुको साथबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद भएको छ।

सोमबार साँझ काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कोटदेवी मन्दीर नजिक ईश्वर कार्कीको घरमा जुवातास खेलाइरहेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरले छापा मारेको थियो।

कार्कीको साँढे तीन तल्ले पक्की घरको तेश्रो तल्लामा जुवातास खेलाई रहेको भन्ने विशेष सूचनाको आधारमा कोटेश्‍वरबाट परिचालन भएको प्रहरी टोलीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा घरधनी ४४ वर्षीय कार्की, काठमाडौं–३२ पेप्सीकोला स्थायी घर भएका ४४ वर्षीय नवराज थपलिया, काभ्रे पनौती– २ स्थायी घर भई हाल काठमाडौं पेप्‍सीकोला बस्ने ४० वर्षीय दीपक तामाङ, काभ्रे पाँचखाल–८ स्थायी घर भई ललितपुर लुभु बस्ने ३२ वर्षीय दीपक तिम्लसिना र रामेछाप खाँडादेवी– ६ स्थायी घर भई हाल काठमाडौं कोटेश्‍वर बस्ने ३० वर्षीय सागर केसी रहेका छन्।

उनीहरुको साथबाट २० बुक तास समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुविरुद्ध जुवा ऐन मुद्दामा कारबाही हुनेछ।

प्रतिक्रिया