

दाङको कांग्रेस जिल्ला सभापतिमा डाँगी निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको गृहजिल्ला दाङको कांग्रेस जिल्ला सभापतिमा कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी समूहले जितेको छ।
कांग्रेस महामन्त्री शशांक कोइराला निकट नेता गिरी पक्षका शंकर प्रसाद डाँगी जिल्ला सभापतिमा निर्वाचित भएर विजयी भएका हुन्।
शनिबार भएको निर्वाचनमा डाँगीले ७ सय ७६ र अर्का उम्मेदवार भुपबहादुर डाँगीले ५ सय ४५ मत ल्याएका थिए। त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत लिएका थिए।
प्रथम हुने उम्मेदवारको ५ सय १५ मत नआएपछि सभापतिको लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भएपनि सबै नेताको सहमति पश्चात् डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जनाएको छ।
सभापति पदका मुख्य प्रतिष्प्रर्धी भुपबहादुर र शंकरबीच भएको सहमतिपश्चात शंकरप्रसाद डाँगी जिल्ला सभापतिमा चयन भएका हुन्। प्रतिष्प्रर्धी भुपबहादुर डाँगीले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरिएको हो।
भुपबहादुरलाई संविधानसभा सदस्य राजु खनाल, खुमबहादुर निकट पुर्व जिल्ला सभापति गेहेन्द्र गिरी, नेता तथा मन्त्री डिल्ली चौधरीको समर्थन रहेको थियो।
विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी पार्टीका लागि जहिले पनि हक्की स्वभावका रूपमा उभिन्छन्। तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा उभिएका थिए।
नेविसंघको साविक बाघमारे गाविसको सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीको सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नंं ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन्।
२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन्।
२०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भए। पार्टीको बाह्रौ अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी सोही कार्यकालमै सचिवमा मनोनित भएका हुन्।
तेह्रौ अधिवेशनमा सचिवमा निर्वाचित भएका हुन्। आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीका लागि धुरी खाबो भएर उभिने डाँगी नेतृत्वका लागि काबिल मानिन्छन्।

