३३ लिटर रक्तचन्दनको तेल बेच्न खोज्ने १० जना पक्राउ


काठमाडौं – काठमाडौंबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ परेका छन्। बिहीबार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले तेलसहित तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी–९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका–६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई, काभ्रे बनेपा नगरपालिका–४ तिनघरे घर भई भक्तपुर दुवाकोट बस्ने ३१ वर्षीय कारसाङ लामालगायत छन्।

यस्तै काठमाडौं–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, मकवानपुर घर भई ललितपुर सानागाउँ बस्ने ३९ वर्षीय नबिन भन्ने मंगल सिं लो, सिन्धुली घर भई काठमाडौं गोगंबु बस्ने ५० वर्षीय हेम कुमार श्रेष्ठ, काठमाडौं टोखाका ३७ वर्षीय ईक्रम श्रेष्ठ, काठमाडौं छाउनीमा ५१ वर्षीय अनुप कुमार श्रेष्ठ र सोही ठाउँमा ५३ वर्षीय अनिल चरण श्रेष्ठ रहेका छन्।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

नेपालमा रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। १० जनाको साथबाट बरामद भएको ३३ लिटर तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी खापुङले बताए।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाइने तयारी भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया