

दाङमा लागूऔषध डिलरमा प्रहरीको छापा, आमाछोरा पक्राउ

काठमाडौं – दाङको तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेर ब्राउन सुगरसहित आमा र छोरालाई पक्राउ गरेको छ। तुलसीपुर–५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरीले सुशीलासहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ ।
उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार सुशीलाका श्रीमान् बसन्त श्रेष्ठ पेशेवर लागूऔषध कारोबारी हुन् । श्रेष्ठले ब्राउनसुगर भारतबाट ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसपछि श्रीमती र छोराले बेचबिखन गर्ने गरेको डीएसपी अर्यालले बताए ।

