एमाले महाधिवेशनः यस्तो छ खानाको मेनू, पहिलो दिन अध्यक्ष ओलीको तर्फबाट विशेष भोज


चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ । करिब करिब अन्तिम तयारीमा पुगेको महाधिवेशनमा सहभागी हुनेहरुका लागि खानाको पनि मेन्यु समेत फाइनल भइसकेको छ ।

महाधिवेशनको पहिलो दिन विशेष भोज अध्यक्ष केपी शर्मा ओलीले खुवाउने बताइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ भने ११ र १२ मंसिरमा बन्द सत्र सौराहामा हुनेछ ।

बन्दसत्रका लागि भनेर होटेलका ३५ सय बेड अग्रिम बुकिङ गरिएको छ । बन्द सत्रको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूलाई निमन्त्रणा गरिएको छ ।

बन्द सत्रका लागि भनेर होटल सेभेन स्टारमा सबैका लागि तीन छाक खानाको व्यवस्था भएको छ भने दुई छाक खाना भने बस्ने होटेलमै व्यवस्था गरिएको छ । सौराहाका होटेलहरूले एमाले कार्यकर्ताका लागि होटलमा ५० प्रतिशत छुटमा होटल उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन् ।

महाधिवेशनको तयारीस्वरूप एमालेले प्रति कार्यकर्ताबाट कम्तीमा सय रूपैयाँका दरले अनिवार्य उठाउने घोषणा गरिसकेको छ ।

खानाको मेनुः

पहिलो विशेष भोज : मंसिर १० गते बेलुकी एमाले अध्यक्ष ओलीको तर्फबाट विशेष खानाको व्यवस्था ।

बन्द सत्रको तीन छाक खानामा १०/१० प्रकारका खानाको आइटमहरु रहेका छन् । प्रत्येक छाकमा खसीको मासु, कुखुराको मासु र माछा अनिवार्य राखिएको छ ।

पहिलो छाक : सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल।

दोस्रो छाक : सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना ।

अन्तिम वा तेस्रो छाक : सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई।

प्रतिक्रिया