मोटर ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु


रौतहट – रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो ।

अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं सई बिरेन्द्र यादवले बताए।

सोही घटनामा २५ वर्षीय जैसी यादव भने घाइते भएका छन् । उनको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिक्रिया