पत्रकार महासङ्घको भवन निर्माण सपना दुई दशकमा पूरा


गलकोट–नेपाल पत्रकार महासङ्घ बागलुङले शाखा स्थापनाको दुई दशकमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको छ । विसं २०७३ फागुनबाट निर्माण शुरु गरेको पत्रकार महासङ्घ बागलुङ शाखाको भवनले हालै आएर पूर्णता पाएको छ । लामो समयदेखिको जग्गा व्यवस्थापनले चार वर्षअघि सार्थकता पाएपछि पत्रकार महासङ्घ बागलुङले भवन निर्माण थालेको थियो । शाखा स्थापना भएको २० वर्षपछि महासङ्घले आफ्नै भवनमा कार्यालय स्थापना गर्ने सपना साकार भएको छ ।

रु एक करोड ३० लाखको लागतमा निर्माण गरिएको तीनतलाको आधुनिक भवन सम्पन्न भएर उद्घाटनको चरणमा रहेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जानकारी दिए । महासङ्घको गत वर्षसम्म दुईतला भवन निर्माण भएकामा यस वर्ष सुविधासम्पन्न हल निर्माणसहित भवन निर्माणले पूर्णता पाएको हो । अहिले भवन परिसरमा पत्रकार महासङ्घको ढुङ्गामा कँुदिएको लोगोसहितको ‘एफएनजे स्मारक’ निर्माण तथा सहयोगदाताको शिलालेखमा नामसमेत टाँस गर्ने काम सकिएको छ ।

शाखाले भवन निर्माणका लागि स्वतःस्फूर्त सहयोग सङ्कलनका लागि ‘हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर’ अभियान सञ्चालन गरेको थियो । यस अभियानबाट रु एक करोडभन्दा बढी रकम सङ्कलन भएको संस्थाका कोषाध्यक्ष विजय राना बताउछन् ।

‘शाखा स्थापनाको दुई दशकपछि महासङ्घको भवन निर्माण सपना पूरा भएको छ, यो सत्कर्मका निमित्त महासङ्घका पूर्वअध्यक्षदेखि लिएर सबै क्षेत्र र निकायबाट अभूतपूर्व भूमिका, साथ सहयोग मिल्यो’, अध्यक्ष शिरीषले भने, ‘यो पवित्र कर्मको हकदार जिल्लाका पत्रकार र सबै सहयोगी मनहरू हुनुहुन्छ ।’ जिल्लाका सबैजसो सरकारी कार्यालय रहेको स्थान बागलुङ नगरपालिका–२ सञ्चारचोकमा भवन निर्माण गरिएको हो । महासङ्घको सुविधासम्पन्न भवनमा महासङ्घको कार्यालयसहित २०० भन्दा बढी क्षमताको कार्यक्रम सभाहल र आधुनिक सूचना केन्द्रसमेत स्थापनाको अन्तिम चरणमा छ ।

महासङ्घको भवन निर्माणका लागि सञ्चार मन्त्रालय, गण्डकी प्रदेश सरकार, बागलुङस्थित स्थानीय तह, सामाजिक सङ्घसंस्था, पत्रकार र सहयोगदाताबाट सहयोग प्राप्त भएको कोषाध्यक्ष रानाको भनाइ छ । रानाका अनुसार महासङ्घको भवन निर्माणमा सङ्घीय सरकार, गण्डकी प्रदेश र पालिकाबाट रु ५५ लाख ४६ हजार, विभिन्न सङ्घसंस्थाबाट रु १३ लाखभन्दा बढी, समाजसेवी व्यवसायीलगायतबाट १३ लाख, पत्रकार महासङ्घ संस्थागत क्षमता विकास कार्यक्रमबाट रु १० लाख, पत्रकार सञ्चारकर्मीबाट मात्रै रु आठ लाखभन्दा बढी रकम सङ्कलन भएको थियो । सोमध्ये सञ्चार मन्त्रालयबाट रु पाँच लाख, गण्डकी प्रदेश सरकारबाट रु १५ लाख, बागलुङ नगरपालिकाबाट रु १७ लाख र अन्य विभिन्न पालिकाबाट रु एक लाखदेखि रु पाँच लाखसम्म सहयोग प्राप्त भएको उनको भनाइ छ ।

चार वर्षअघि निवर्तमान अध्यक्ष मुकेश राजभण्डारी नेतृत्वको कार्यसमितिको पहलमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे तथा नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीको पहलमा जिल्ला बाल कल्याण समितिको नाममा रहेको करिब पाँच आना जग्गा ५० वर्षको भोगचलनका लागि व्यवस्थापन गरेको थियो । त्यसलगत्तै वर्तमान कार्यसमितिले काम थालेर महासङ्घको आफ्नै भवन बनाउने सपना पूरा भएको महासङ्घ बागलुङ शाखाका सचिव राम थापाले जानकारी दिए । महासङ्घको नवनिर्मित भवन यही मङ्सिर ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

(रासस)

प्रतिक्रिया