‘जीवन काँडा कि फूल’को अमेरिकामा च्यारिटी शो हुँदै


काठमाडौं – साहित्यकार झमक कुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रको अमेरिकामा च्यारिटी शो हुने भएको छ । हामी नेपाली ग्लोबल अमेरिकाको आयोजनामा अमेरिकाको बिभिन्न शहरहरुमा च्यारिटी शो हुन लागको हो । गरिब बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्य सहित अमेरिकामा पहिलो च्यारिटी शो नोभेम्बर २४ तारिकमा हुने हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष अमृत लामा बताएका छन् ।

साहित्यकार घिमिरेको जीवनमा आधारित पुस्तकलाई चलचित्रमा विनोद विष्टले निर्माण तथा निर्देशन गरेका छन् । यो कृतिले घिमिरेलाई मदन पुरस्कार पनि प्राप्त गराएको छ । चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह-निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।

विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन् ।

 

प्रतिक्रिया