
इलाममा भाइले गरे दाईको हत्या
काठमाडौं – इलाममा चक्कु प्रहार गरी भाईले दाजुको हत्या गरेका छन्। इलामको सन्दकपुर गाउँपालिका–१ चापगैरीमा भाइले दाजुको हत्या गरेको प्रहरीले जनाएको छ।
भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार घटना सोमबार साँझ पौने ६ बजेको हो। काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहार गरेर दाजुको हत्या गरेको आरोपमा प्रहरीले चक्रलाई चक्कुसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
