
एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि १ सय रुपैयाँ सङ्कलन अभियान आजदेखि सुरु
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनलाइन प्रणालीमार्फत हुन गइरहेको एक सय रुपैयाँ सङ्कलन अभियान आजैदेखि सुरु हुने भएको छ ।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि खर्च जुटाउन पार्टीमा सङ्गठित साढे सात लाख सदस्यहरुले पार्टीको खातामा कम्तीमा एक सय रुपैयाँ सङ्कलन गर्नुपर्ने बताइए अनुरुप यसका लागि आवश्यक अनलाइन प्रणाली पनि आजदेखि नै सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्न गइरहेको एमालेले सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गर्ने तयारी अगाडि बढाएको पनि उनले बताए। चितवनमा महाधिवेशन हुने भएपछि चितवनका स्थानीयहरु पनि उत्साहित भएको पाइएको उनले बताएका छन् ।
एमालेले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखको सङ्ख्यामा सर्वसाधारण उतार्ने गरी तयारी अगाडि बढाइरहेको छ ।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजनाको मूल व्यवस्थापन समितिको संयोजकमा माओवादी केन्द्रका पूर्व नेता हालका एमाले स्थायी कमिटी रामबहादुर थापा बादल रहेका छन् ।



कागजपत्र |
