
महाधिवेशन नजिकिएसँगै चितवन पुगे एमालेका शीर्ष नेताहरु
काठमाडौं – दसौँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै नेकपा एमालेका शीर्ष नेताहरु चितवन पुगेका छन् ।
एमाले महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गर्न बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा एक टोली चितवन पुगेका हुन् ।
पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरु विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरु महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका छन् ।
उनीहरुले एमालेको महाधिवेशन स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् भने महाधिवेशनको बन्दसत्र हुने सौराहमा पनि स्थलगत अवलोकन गरेका छन् । चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।
समसमायिक विषयमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ने कुनै संकेत नभएको टिप्पणी गरे । सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको उनको भनाइ छ । महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए । उाले पार्टीको महाधिवेशनको तयारीका कामहरु धमाधम अघि बढेको पनि जानकारी दिए ।



कागजपत्र |
