उपत्यकाको पाँच वृत्तका डिएसपी फेरिए, कालीमाटीमा घिमिरे


काठमाडौं – बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। सरुवामा उपत्यकाका पाँच वृत्तका डिएसपी पनि फेरिएका छन्।

डिएसपी अनिल घिमिरेको महानगरीय प्रहरी वृत्त, कालीमाटीमा सरुवा भएको छ। यस्तै कालीमाटीका डिएसपी अपिलराज बोहोराको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सरुवा भएको छ।

२०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्याका अभियुक्तलाई १४ वर्षपछि पक्राउ गर्न सफल भएका घिमिरे राम्रा प्रहरी अधिकृत हुन्।

त्यस्तै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी विश्वराज खड्कालाई पठाइएको छ। उनको यसअघि नै दरबारमार्गमा काज भएको थियो ।

यसैगरी बालाजु वृत्तमा डिएसपी गौतम मिश्रलाई पठाइएको छ । यसअघि सातदोबाटो वृत्तको राम्रो कमाण्ड सम्हालेका मिश्र पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बारामा थिए।

थानकोट वृत्तमा डिल्लीनारायण पाण्डेय र भक्तपुरको जगाती वृत्तमा रामबहादुर केसीको सरुवा भएको छ।

केही आकर्षक इप्रकामा पनि डिएसपीहरुको सरुवा भएको छ। इप्रका इटहरीमा खगेन्द्र खड्का, बुटवलमा ठगबहादुर केसी, नवलपुरमा शर्मिला गुरुङ, मिर्चैयामा हरि ओलीलाई पठाइएको छ। नगर प्रहरीमा डिएसपी कौशल बुढाथोकीको सरुवा भएको छ।

प्रतिक्रिया