कैलाली युवक हत्या प्रकरण: मेजरको टाउको फुटाउने समूहले हत्या गरेको खुलासा!


काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय भुपेन्द्र बडुवालको हत्या नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीमाथि आक्रमण गर्ने टोलीले गरेको खुलेको छ।

नविन रावललगायतको टोलीले चक्कु प्रहार गरि बडालको हत्या गरेको प्रहरीले जनाएको छ। बडुवालको हत्या गरेको आरोपमा नविन रावल, महेश रावलसहित ५ जनाको संलग्तना रहेको पाइएको हो।

नविनबाहेक अन्य चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार पुरानो रिसिईबीलाई लिएर दुई समूहबीच झडप हुँदा घटना घटेको हो। टीकापुरस्थित कृषि हाटबजार नजिकै बडुवाललाई ४–५ जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

बडुवालमाथि चक्कु प्रहार गर्ने मुख्य व्यक्ति चिसापानी संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा हुन् नविन। महेश पनि हर्कबहादुरका कान्छा छोरा हुन्।

गत आइतबार हर्कबहादुरका छोरालगायतले नै मेजर शाहीको गाडी तोडफोड गर्नुको साथै मेजरको टाउको फुटाएका थिए।

मदिराले मातेपछि मेजर शाही आइतबार राति संगम होटलमा पुगेर हर्कबहादुर रावलसँग झगडा गरेका थिए। राति ११ बजेतिर मेजर शाहीले प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए।

मदिराले मातेको अवस्थामा पुगेका मेजर शाहीलाई देख्ने बित्तिकै रावलका छोरालगायतले आक्रमण गर्दा मेजर शाहीको टाउकोमा चोटसमेत लागेको थियो। अहिले उनको टाउकोमा १६ वटा टाँका लगाउनु परेको छ।

बडुवालको हत्या भएपछि बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

घटनास्थलमा फेला परेको स्कुटी हर्कबहादुरको छोरा महेशको रहेको समेत खुलेको छ।

प्रतिक्रिया