
मदिराले मातिएका सेनाका मेजर पक्राउ
काठमाडौं – गएराति नेपाली सेनाका एक सेनानी (मेजर) पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गर्दै हिँडेपछि मेजर अशोकजंग शाहीलाई कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।
स्रोतका अनुसार लम्कीचुहा नगरपालिका–३ गोरङेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर शाही मदिराको नशामा लठ्ठिएर स्थानीयलाई गालीगलौज गर्दै सडकमा हिँडेपछि प्रहरीले पक्राउ गरेको हो।
चिसापानीस्थित संगम होटलमा छिरेर होटल सञ्चालक हर्क रावललाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ। रावलले मेजर शाही मापसेपश्चात आफ्नो होटलभित्र छिरेको बताए।
हतियारसहित सडकमा होहल्ला गर्दै हिँडेपछि प्रहरीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएका थियो। प्रहरीको नियन्त्रणमा रहेका शाहीले मदिराको नशाले मात्तिएर गल्ती गरेको भन्दै भोलिपल्ट माफी मागेको स्रोतले बतायो।
सर्वसाधारणलाई गालीगलौज गरेको र केही व्यक्तिलाई हातपात समेत गरेका मेजर शाहीलाई प्रहरीले माफी मागेको भन्दै छाडिसकेको छ। प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा बुझाएको छ।
यता, प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा समेत गरेका छन्। आफूसँग भएको राइफल बोकेर बजारमा हिँडेको देखेपछि केहीबेर चिसापानीको माहौल त्रसित बनेको थियो।
स्रोतका अनुसार घटनाका बारेमा छानविन गर्न सुर्खेत ब्यारेकले एक टोली चिसापानी पठाएको छ।



कागजपत्र |
