नेपालकै पहिलो स्मार्ट पार्किङ सञ्चालनः भाटभटेनीमा अब ११ तलामा गाडी राख्न सकिने


काठमाडौं – आज देखि भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा नेपालकै पहिलो स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरेको स्मार्ट पार्किङ २५ मिटर अग्लो छ ।

यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । ११ तलाको भर्टिकल पार्किङमा चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्ने सुपरमार्केटले जनाएको छ ।

कम्पनीको अनुसार एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्म पार्किङ गर्न सकिनेछ। भर्टिकल पार्किङको लागत फिनिसिङसहित करिब सात करोड रुपैयाँ परेको भाटभटेनी सुपरमार्केट स्रोतले जनाएको छ ।

गाडीलाई पार्किङको तल्लो भागमा पुर्‍याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने छ ।

पार्किङका लागि विभिन्न प्रविधि उपलब्ध रहेकोमा भाटभटेनीमा निर्माणाधीन सो पार्किङका लागि भर्टिकल लिफ्टिङ पार्किङ सिस्टम अर्थात टावर पार्किङको प्रयोग गरिएको निर्माता कम्पनीले जनाएको छ ।

प्रतिक्रिया