वाग्मतीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने


हेटौँडा – वाग्मती प्रदेश सभाको बैठक भोलि बस्ने भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए।

बैठक सोमबार ३ बजेका लागि बोलाइएको छ। बैठक सोमबार सुरुवात भए पनि समय अभाव भएमा मंगलबार विश्वासको मत लिने सभामुख श्रेष्ठले बताए। गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ ।  पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ ।

मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले सोमबार नै विश्वासको मत लिने तयारी गरिएको बताए। विश्वासको मतको प्रक्रिया पूरा भएपछि मात्र मन्त्रिपरिषद विस्तारको तयारी मुख्यमन्त्रीको छ।

 

प्रतिक्रिया