दाङमा युवकको हत्या, आरोपितहरु फरार


काठमाडौं – दाङमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका–४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका पहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार आइतबार बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याएलगतै चिकित्सकले पुनलाई मृत घोषणा गरेको हो।

पुरानो रिसिइबीका कारण पुनको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। पुनमाथि तुलसीपुर–४ कै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको आरोप छ।

प्रहरीका अनुसार अर्का एक जना गम्भीर घाइते छन्। लाठी र धारिलो हतियार प्रहारबाट सल्यानको कपुरकोट गाउँपालिका–४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते रहेको काफ्लेले बताए।

डाँगीलाई सुरुमा थप उपचारका लागि बाँके लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको एसपी काफ्लेले जानकारी दिए।

काफ्लेको शरीरका विभिन्न भागमा काटिएको चोटपटक छ। आरोपित सबै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

प्रतिक्रिया