

७३ लाख ५० हजार चेक बाउन्स मुद्दाकी फरार अप्सरा सिआईबीको फन्दामा

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ७३ लाख जरिवाना तोकेकी फरार महिला पक्राउ गरेको छ ।
सिआइबीले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ७३ लाख ५० हजार जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेपछि फरार रहेकी अर्घाखाँची पाणिनी– ८ घर भै हाल काठमाडौँको बसुन्धारा ३५ बर्षिया अप्सरा खातुनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम ७३ लाख ५० हजार जरिवानापछि फरार रहेकी खातुनलाई चुन्निखेलबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकी खातुनले आफ्नो नबिल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।
उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए।

