प्रहरी हत्या घटना : नौ जनालाई जन्म कैदको फैसला


सुदूरपश्चिम – धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी-१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भने, ‘हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।’ उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए । गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो ।

सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मटरको कारोबार गर्ने धनगढीका व्यापारी राजीव गुप्तालाई भने अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया