

मन्त्रिपरिषद् निर्णयः प्रहरीको रासन १५ प्रतिशतले वृद्धि

काठमाडौं – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको जानकारी दिए।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल पेश गरेका थिए। आर्थिक वर्ष ०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारीमा गृहमन्त्री खाण सकारात्मक थिए।
बजेटमा व्यवस्था गरिएअनुसार अब कार्यान्वयनहुनेछ। सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ।
नेपाल प्रहरीको संख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको संख्या करिब ३५ हजार छ। एउटा सिपाहीले कम्तीमा चार हजार रुपैयाँदेखि बढीमा १२ हजार रुपैयाँसम्म रासन भत्ता पाउँदै आएका छन्। अब १५ प्रतिशत थप हुनेछ।
काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपैयाँसम्म रासन भत्ता दिइन्छ।

