

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ – अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा-स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
ठुलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।
पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा-स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् ।
चट्टानसहितको ठुलो पहिरो भएकाले सडक खुलाउन केही समय लाग्ने भएकाले तत्काल यो सडक भएर यात्रा नगर्न पनि प्रवक्ता अधिकारीले सुझाव दिएका छन् ।
यस ठाउँमा सडक विस्तार गरिएकाले पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

