सई र हवल्दारको सेटिङमा इन्सपेक्टरको सरुवा!


सई विनय अर्याल र हवल्दार विनोद गोतामे।

काठमाडौं – आइतबार महानगरीय प्रहरी ट्राफिक प्रभाग, कलंकीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर खड्कामाथि खसी मागेको आरोप लगाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनको सरुवा गर्यो।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले केही समयअघि उनै खड्कालाई उत्कृष्ट भन्दै पुरस्कृत समेत गरेका थिए। तर, आइतबार अचानक खड्काको सरुवापछि ट्राफिक महाशाखा प्रमुख भट्टराईमाथि अनेकन आशंकाहरु उब्जिएको छ।

खसी मागेको आरोप लगाउँदै खड्काको सरुवा हुनुको पछाडि धेरै कुराहरु लुकेको छ। कलंकी प्रभागका प्रहरी नायब निरीक्षक (सई) विनय अर्याल र हबल्दार विनोद गोतामेको सेटिङमा खड्काको सरुवा भएको हो।

सई अर्याल एसएसपी भट्टराईका खास मान्छे हुन्। जुनकुरा धेरैलाई थाहा छैन। कीर्तिपुरस्थित रातोमाटेमा घर बनाइरहेका सई अर्यालले आफूले भनेअनुसार सामग्रीहरु निर्माणधिन घरमा पठाउन नपाएपछि खड्काको कुरा काट्न सुरु गरेका हुन्।

एसएसपी भट्टराई महानगरीय प्रहरी वृत्त सातदोबाटो, ललितपुरको प्रमुख हुँदा सई अर्याल ट्वाईसी थिए। त्यतिबेला इन्सपेक्टर नभएको कारण सई अर्याल सातदोबाटो वृत्तका ‘सेकेण्ड म्यान’ थिए।

एसएसपी भट्टराईसँग नजिक भएका सई अर्याल खड्काले गरेको सबै कुराहरुमा जानकार थिए। खड्कासँग असन्तुष्ट भएपछि सई अर्यालले भए/नभएको कुरा एसएसपी भट्टराईलाई लगाउने गरेको स्रोतले बतायो।

खसी नै मागेको प्रमाण फेला परेपछि मात्र कारबाही गर्दा उपयुक्त हुन्थ्यो। तर, अनाहकमा झुटा आरोप लगाएर खड्कालाई कारबाही भएको कलंकी प्रभागका ट्राफिक प्रहरीहरु बताउँछन्।

अर्को कुरा खसी नै मागेको हो भने उजुरी सबैभन्दा पहिला ट्राफिक महाशाखा प्रमुख एसएसपी भट्टराईसमक्ष पुग्नुपर्ने हो। भट्टराईपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालसमक्ष पुग्नुपर्ने हो।

तर, सिधै यो घटना प्रहरी महनिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीसमक्ष पुगेको छ। आईजी क्षत्रीमार्फत एआईजी पाललाई घटनाबारे जानकारी भएको हो। तरपनि घटनाको छानबिन आईजी क्षत्रीले सिधै एसएसपी भट्टराईलाई गर्न निर्देशन दिए।

यहाँ यो घटना आईजीलाई कसरी पुग्यो? खासकुरा झनै यहाँबाट प्रष्ट हुन्छ। तीन हप्ताअघि इन्सपेक्टर खड्काले एकजना हवल्दारको सरुवा गरेका थिए। ती हवल्दार हुन् विनय गोतामे। आफूलाई आईजीपीको मान्छे भन्दै व्यवसायीहरुलाई दुःख दिन थालेपछि खड्काले उनको सरुवा गरिदिएका थिए।

हालका आईजी शैलेश थापा क्षत्री मेट्रो वान हुँदा बडिगार्ड बसेका रहेछन्। त्यसैले पनि गोतामेको आईजी क्षत्रीसँग राम्रै चिनजान हुने नै भयो। आईजीको नाम भिजाउँदै हिँड्न थालेपछि खड्काले सरुवा गरिदिएका गोतामेले नै आईजीलाई उजुरी गरेको पुष्टि हुन्छ।

दसैंको मुखमा आफ्नो सरुवा भएपछि इन्सपेक्टर खड्कादेखि रुष्ट भएका गोतामेले नै आईजीसमक्ष उजुरी लैजाने गरेको स्रोतले बतायो। यसरी संगठनमा आफ्नै कर्मचारीहरुको कारण प्रहरी संगठन बद्नाम हुँदै गएको छ।

विचौलियाको समेत हात!

सई अर्याललाई साथ दिनेमा आफूलाई पत्रकार भन्दै एसएसपी भट्टराईको गुनगान गाउने एकजना विचौलिया समेत छन्।

उक्त विचौलियामार्फत झन खड्काको बारेमा भए/नभएको कुरा लगाउन सजिलो हुने गरेको स्रोत बताउँछ। एकदिन नियमित चेकिङको क्रममा ति विचौलियालाई कलंकी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि छाडेको थिएन। तत्कालै चिट काटिदिएको थियो।

‘चिट नकाट्न आग्रह गर्दागर्दै ती विचौलियाले एसएसपी भट्टराईमार्फत इन्सपेक्टर खड्कालाई फोन गर्न समेत लगाएका थिए,’ एकजना ट्राफिक प्रहरी जवानले भने, ‘त्यसपछि ती व्यक्तिले एसएसपी भट्राईको फोटो समेत देखाएका थिए। तर हामीले छाडेनौं, अनि नचाहिने कुरा (पैसा माग्यो) भनेर वान सरलाई कुरा लगाएछ।’

यसरी एसएसपी भट्टराईले ती विचौलियालाई दसैंमा ६ हजार रुपैयाँ समेत दिएको स्रोतले बतायो। त्यतिमात्र होइन विचौलियालाई पेट्रोलको कुपन समेत दिने गर्छन एसएसपी भट्टराई।

यसरी खुलेआम विचौलियालाई बोकेर हिँड्ने एसएसपी भट्टराईमाथि कारबाही हुँदैन्। तर, दिनहुँ सडकमा खटिएर आफ्नो ड्युटी निभाउने अधिकृतलाई कारबाही हुन्छ।

खड्का महाशाखामा तानिएपछि ट्राफिक प्रहरी प्रभाग कलंकीको नयाँ इन्चार्जमा इन्सपेक्टर सरोज ठकुराठीलाई पठाइएको छ।

प्रतिक्रिया