

बामे सरेपछि

बल्ल बामे सरेका छौं।
बर्ष दिन बित्यो। हामी कछुवाको गतिमा छौं। खरायोको गतिमा दौडने र मूल बाटोमा मध्यविन्दुमा निदाउने लक्ष्य हाम्रो छैन। समाचारीय दुनियाँमा गन्तव्य कहिल्यै भेटिँदैन यसको हेक्का छ। हाम्रो प्रत्येक दिनको गन्तव्य जनताको आवाज जनताबीचबाट चुनिएको प्रतिनिधिसहित शासकका रुपमा परिणत भएकासम्म पुराउने र घचघच्याउनेसम्म हो।
हाम्रो लय पत्रकारिताको लिकभन्दा बाहिरबाट हुनेछैन। भूल सुधार्ने ठाउँ राख्नेछौं, चुक्ने छैनौं।
अनलाइनन्युज७ डिजिटल पत्रिकाको मूल बाटो नै केन्द्रविन्दुमा पाठकलाई राख्नु हो। र अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रलाई शिरमा राखेर अघि बढ्नु हो।
लोकतन्त्रमा प्रेस स्वतन्त्रता चाहिन्छ भन्ने दलीय निकृष्ट सोच होइन, प्रेस स्वतन्त्रता नै लोकतन्त्र हो भन्नेचाहिँ स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।
यसैले पनि लोकतान्त्रिक प्रणाली र यसका मानकलाई स्थापित गर्नका निम्ति हाम्रा पाइला सदैव अग्रसर हुनेछन्।
हरेक मौनको पनि आवाज बन्ने प्रयत्नमा हाम्रो उठाई, हिँडाई र म्यारथन हुनेछन्। पक्षकारिता होइन, पत्रकारिताको मूल मर्म र कर्मलाई निरन्तर व्यावसायीक र निष्पक्षकारितामा चित्रित हुनेगरी हामी अगाडि बढ्ने प्रणमा छौं।
पत्रकारिताका अनेक आयाम छन्। र, हामी थप आयामलाई बलियो बनाउनका लागि विश्लेषण, विचार र समाचारलाई सन्तुलित, मर्यादित र राज्यले तोकेको सीमाभित्र, सोही रेखाभित्र रहेर व्यावसायीक, पेशागत सन्तुलन कायम राख्नेछौं। तर, राज्य प्रणाली र आम मानिसको आवाजमाथि हावी भए सीमारेखाका लागि होइन, जनताको पक्षमा बुलन्द आवाज उठाउन पछि पर्ने छैनौं।
राजनीति, सुरक्षा क्षेत्र, व्यापारिक, व्यावसायीक सबै क्षेत्रसँग व्यावसायीक र सन्तुलित भएर गति हाम्रो ध्यानदृष्टि हुनेछ। लोकतन्त्र र जनताका साना भन्दा साना समस्या राज्यलाई सुनाउने देखाउने अर्जुनदष्टि बन्नेछन्।

