प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ। दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला चोरी भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो।

भरतबहादुर प्रधानमन्त्री शेरबहादुरका सहोदर भाइ हुन्। भरतबहादुरको परिवार सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको भएको हो।

प्रहरीका अनुसार भरतबहादुरको घरबाट चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको छ। घरमा रहेको अन्य सामान भने सुरक्षित छ।

दराजको ताल्चा रडले खोलेको प्रहरीको अनुमान छ। दराजबाट नगदसहित सुन र चाँदी चोरी भएको हो। भरतबहादुरको घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन भएको छ।

घटनाको अनुसन्धान भइरहेको र चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

दसैंको समयमा चोरीका घटना बढ्ने गरेका छन्। त्यसकारण प्रहरीले सकभर घर खाली नछोड्न र छोड्नै परे त्यसको जानकारी सामाजिक स‌ञ्जालबाट नदिन अनुरोध गरेको छ।

तस्बिर: सामाजिक सञ्जाल

प्रतिक्रिया