

एकैसाथ हटाइए नागढुंगा र नयाँबसपार्कका इन्स्पेक्टर

काठमाडौं – दसैंको मुखमा महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित सबैजना प्रहरीलाई हटाइएको छ। उनीहरुको कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर हटाइएको हो।
नागढुंगाका इन्सपेक्टर त्रिभुवनसिंह थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदीले बताए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर इन्सपेक्टर निरू दुवालको नेतृत्वमा नयाँ टोली पठाएको हो।
‘चाडवाडको समयमा सुरक्षा प्रबन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्नको लागि पुरानो टोली फिर्ता गरी नयाँ टोली पठाइएको हो,’ डिआईजी सुवेदीले भने।
नागढुंगा प्रभागमा इन्सपेक्टरको नेतृत्वमा ३३ जनाको दरबन्दी थियो। नागढुंगाबाट तानिएका सबै प्रहरीलाई मेट्रो मातहतका प्रहरी कार्यालयमा खटाइएको छ। नागढुंगा काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो।
यस्तै महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर रमेश विष्टलाई समेत जिम्मेवारीबाट हटाइएको छ। महानगरीय प्रहरी परिसर स्रोतले जिम्मेवारी प्राप्त क्षेत्रमा सन्तोषजनक रुपमा काम नगरेको पाइएकाले जिम्मेवारीबाट हटाएर तालुक निकायमा तानिएको बतायो।
विष्टको ठाउँमा सुमन न्यौपाने गोंगबु प्रहरी प्रभागमा खटाइएको छ।

