
शेरबहादुर देउवाले चढ्ने गाडी संसद्बाट ‘गायब’
काठमाडौं – प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ। संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको गाडी बुझाएका छन्।
एक महिनाअघि फिर्ता भएको भनिएको पुरानो गाडी पनि संसद् सचिवालयबाटै ‘गायब’ भएको छ। २०७४ मंसिरको चुनावबाट कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेपछि देउवाले संसदबाट बा २ झ ४४८ नम्बरको गाडी लिएका थिए।
२ हजार ५ सय सीसीको यो गाडी खासमा निर्वाचन आयोगको नाममा दर्ता छ। २०७० माघ ९ मा यातायात कार्यालयमा दर्ता गाडी आयोगसँग मागेर संसद् सचिवालयले देउवालाई दिएको थियो। तर, देउवाले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई २०७४ फागुन ३ मा निजी नम्बर प्लेटमा बदलेर बा १९ च ५५५ को रूपमा चढ्दै आएका थिए।
मर्मत खर्च संसद्ले व्यहोर्दै आएको थियो। प्रधानमन्त्री भएपछि देउवाले प्रतिपक्ष नेताको हैसियतमा प्रयोग गरेको गाडी फिर्ता गर्नुपर्थ्यो, दुई महिनापछि भदौ २५ मा गाडी फिर्ता पनि गरे।
तर, आश्चर्य संसद्बाट लगेको गाडीको सट्टा उनले प्रधानमन्त्री कार्यालयमा रहेको १४ वर्ष पुरानो गाडी पठाए। देउवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टोयोटाको नयाँ गाडी दिएको छ।
अत्याधुनिक सुविधा सम्पन्न नयाँ गाडी मात्र होइन, प्रधानमन्त्री कार्यालयका विभिन्न गाडी देउवाका लागि तैनाथ छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।



कागजपत्र |
