पूर्वगृहमन्त्री बादल र पूर्वआईजी खनालविरुद्ध उजुरी दर्ता


काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेल इन्काउन्टर प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादल र तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

बुधबार सरकारी वकिलको कार्यालयमा प्रहरीलाई बोलाएर उजुरी दर्ता गरिएको हो। उजुरी दर्ताको प्रतिलिपिसहितको प्रतिवेदन सर्वोच्च अदालतमा पठाउने तयारी छ। अब थापा र खनालसँग प्रहरीले सोधपुछ गर्नेछ।

सर्वोच्च अदालतले जाहेरी दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको थियो। महान्यायाधीवक्ताको कार्यालयले उक्त आदेश कार्यान्वयनका लागि जिल्ला सरकारी वकिललाई पत्राचार गरेको थियो।

२०७६ असार ५ गते दिउँसो पौडले दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरीले दाबी गरेको थियो। तर, मानव अधिकार आयोगको टोलीले छानबिनमा विवादास्पद देखिएको भन्दै अनुसन्धान गर्न सरकारलाई भनेको थियो।

प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउनका लागि आयोगले सरकारलाई भनेको थियो।

प्रतिक्रिया