

आईजी थापाले परम्परा तोडिदिए, को हुन् ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाउने पूर्वअसई चैतमाया?

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रथम महिला प्रहरी सहायक निरीक्षक (असई) चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
६६ औं प्रहरी दिवसको अवसरमा प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान गरेका हुन्।
काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरीक्षक हुन्। ११ असार २००८ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन्।
महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रधान कार्यालयले जनाएको छ।
विगतका प्रहरी दिवसमा उच्च तहमा रहेर काम गरेका पूर्वअधिकारीलाई मात्र दिइँदै आएको यस्तो सम्मानको परम्परागत ढर्रा तोड्दै प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिएका हुन्।
यसअघि प्रायः पूर्वआईजी तथा एआईजीसहित उच्च अधिकारीले मात्र यो अवार्ड हात पार्दै आएका थिए।
को हुन् डंगोल?
८९ वर्ष लागेकी चैतमाया डंगोल चाबहिल गणेस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डंगोल र तरिमाया डंगोलकी जेठी छोरी हुन्। आमाबुबाका सात सन्तान मध्ये सबैभन्दा जेठी उनको १०–१२ वर्षका उमेरमा विववाह भएको थियो।
डंगोल आफैंले पनि सोचेकी थिइनन् सुरक्षा निकायमा ३२ वर्ष बिताउँला र प्रहरीमा जागिर खाउँला। उनको परिवारको समेत कुनै लालसा पनि थिएन।
परिवारको चाहनाविपरित प्रहरी सेवामा प्रवेश गरेकी चैतमाया नेपालको प्रथम महिला प्रहरीका रुपमा परिचित छिन्। तत्कालिन प्रहरी प्रमुख नरशमशेर जबराको पालामा केही महिला नेतृहरुको सुझाव र साथीहरुको लहलहैमा लागेर डंगोललाई झुक्याएर प्रहरीमा भर्ना लिइएको थियो।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको कार्यालयमा लैजाने भन्दै तत्कालीन कांग्रेसका काठमाडौंका नेताहरूले उनलाई प्रहरीमा जागिर लगाइदिएका हुन्। त्यतिबेला नेपाल प्रहरीमा महिलाका लागि २५ दरबन्दी तोकिएको थियो। तर, चैतमायासँगै १२ जनामात्र प्रहरी बनेका थिए।
२००८ सालमा प्रहरी जवान बनेकी चैतमाया २०३२ सालमा असई भएकी हुन्। उनले लामो समय असईको जागिर खाइनन्। २०३९ सालमा रिटायर्ड भइन्। केही समय सेवामा रहेको भए प्रहरी नायब निरीक्षक (सई) बन्ने पक्का थियो। तर उनले अचानक जागिरबाटै राजीनामा दिइन्।
प्रहरी हुँदा चैतमायाले अधिकांश समय काठमाडौंमै बिताइन्। चुनावको समयमा मात्रै सरकारले महिला प्रहरीलाई काठमाडौं बाहिर खटाउँथ्यो।
उनले हाल निवृत्तीभरणस्वरुप १८ हजार रुपैयाँ बुझ्दै आएकी छन्। उनले जागिर खाँदा २५ महिलाको दरबन्दीलाई ३०–३० रुपैयाँ दिइन्थ्यो।

