सुन तस्करी प्रकरणः चुणामणि उप्रेती उर्फ ‘गोरे’ले सफाइ पाएको खुलासा!


काठमाडौं – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरणमा चुणामणि उप्रेती उर्फ ‘गोरे’ले सफाइ पाएको खुलासा भएको छ। सुन तस्करी पुष्टि नभएपछि सफाइ पाउनेमा गोरेसहित ७७ जना रहेका छन्।

अदालतका न्यायधीश भरत लम्सालको इजलासले सुन तस्करी मुद्दामा पक्राउ परेका ७७ जनालाई नै सफाइ दिएका हुन्। सबैले सफाइ पाएसँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ। सुन नै नभेटिएपछि उनीहरुलाई सफाइ दिएको अदालतले जनाएको छ।

न्यायाधीश लम्सालको इजलासले सुन नै नभेटिएको भन्दै गोरेसहितका अभियुक्तलाई सफाई दिएको हो। यता अदालतले फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखेको छ। त्यस्तै सुन प्रकरणमा मुछिएका ८ जना प्रहरीले पनि सफाइ पाएका छन्।

तर गोरेलाई व्यक्ति हत्यामा भने सजाय तोकिएको छ। गोरेसहित ८ जनालाई सजाय तोकिएको छ। मोरङका सनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैद र दुई जलाई सामान्य कैदको मात्रै सजाय तोकिएको छ। गोरेलाई जन्मकैद सजाय तोकिएको अदालतले जनाएको छ।

जन्मकैदको सजाय पाउनेमा गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्। यस्तै शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला सुनाइएको छ।

मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार गोरेलाई भने शरीर बन्धक तथा अपहरण मुद्दामा पनि कैद हुने फैसला भएको छ। यसबारे भने एक महिनाभित्रमा सजाय निर्धारण हुनेछ।

प्रतिक्रिया