सशस्त्र आईजी खनाल नयाँ दिल्लीमा, भारतीय गृहमन्त्री शाहलाई भेटेर के भने?


काठमाडौं– समकक्षी कुमार राजेश चन्द्रको निम्तोमा नयाँ दिल्लीको चार दिने भ्रमणमा रहेका सशस्त्र प्रहरी बल महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले भारतीय गृहमन्त्री अमित शाहसँग सोमबार साँझ भेटवार्ता गरेका छन्।

भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको निम्तोमा सीमा क्षेत्रका समस्या र समाधानको विषयमा छलफलका लागि दिल्ली पुगेका आईजी खनालले गृहमन्त्री शाहसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा रहेका विविध प्रकारका समस्या र भाइचारा बढाउने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

नेपाल–भारत सीमा विवादलगायतका चर्चा चलिरहेका बेला नेपालका तर्फबाट सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र आईजीको यो भ्रमणलाई अर्थपूर्ण मानिन्छ।

खनालले भ्रमणका दौरान एसएसबी प्रमुख कुमार राजेश चन्द्रसँग विविध चरणमा बैठक र समिक्षा गर्नेछन्। खनाल विहीबार स्वदेश फिर्ता हुने बताइएको छ।

नेपालका तर्फबाट नयाँ दिल्ली पुगेका प्रहरी प्रमुखलाई त्यहाँका शक्तिशाली मन्त्रीले भेटवार्ता गरेको यो विरलै घटना मानिन्छ। सम्भवतः सशस्त्र प्रहरीका तर्फबाट समकक्षीको निम्तोमा छलफल चलेको पनि पहिलो पटक हो।

प्रतिक्रिया