

संखुवासभा सामूहिक हत्याकाण्डः चारजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं – संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी चारजना पुर्पक्षको लागि कारागार चलान भएका छन्। गत २१ भदौमा मादी नगरपालिका–१ उम्लिङका तेजकुमार कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो।
हत्या आरोपमा सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई जिल्ला अदालत संखुवासभाले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
आइतबारदेखि सुरू भएको थुनछेक बहसपछि सोमबार अदालतले चारै जनालाई कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए।
हत्यामा संलग्न रहेका आरोपी एक बाल बिज्याईकर्तालाई भने सुधार गृह पठाउने अदालतको आदेश छ।
अदालतले हत्यामा संलग्न अभियुक्तहरु खड्गबहादुर, लोकबहादुर , रणबहादुर र हस्तबहादुरलाई अदालतको आदेशमा सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी पठाइएको डिएसपी सुवेदीले बताए।
त्यस्तै डिएसपी सुवेदीका अनुसार अभियुक्त लोकबहादुरका १७ वर्षीय भाई नरेश कार्की बालक भएको ठहर गर्दै उनलाई बाल सुधार गृह विराटनगर पठाइएको छ।
हत्याको पाँच दिनपछि प्रहरीले लोकबहादुर कार्कीलाई सुरुमा पक्राउ गरेको थियो। लोकबहादुरको बयानपछि थप चारजना अभियुक्तहरुलाई प्रहरीले पक्रन सफल भएको थियो।
हत्या गर्ने अभियुक्तहरु मृतकका आफन्त हुन्। उनीहरु पक्राउ गरी १५ असोजमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
तेजबहादुर कार्कीसँगै, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातिनी गोमा कार्कीको विभत्स हत्या भएको थियो।

