काठमाडौंका २०७ पाकेटमारः धरौटी तिर्न नसक्ने ४६ जेल चलान, यस्ता रहेछन् ‘कोडवर्ड’


काठमाडौं– काठमाडौं उपत्यकाबाट पक्राउ गरिएका २०७ जना पाकेटमारलाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं परिसर मातहतका विभिन्न प्रहरी युनिटले विगत केही दिनदेखिको अवधिमा उपत्यकाका विभिन्न स्थानबाट ती पकेटमारहरु पक्राउ गरेको हो। परिसरले सोमबार पत्रकार सम्मेलन गरी पाकेटमार सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार परेकामध्ये ४६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भइसकेका छन् भने बाँकी १ सय ६१ जना सार्वजनिक गरिएको हो।

नेपाल यातायात व्यावसायी महासंघ र प्रहरीको संयुक्त पहलकदमीपछि उपत्यकाबाट ती पकेटमारहरु पक्राउ गरिएको पत्रकार सम्मेलनका क्रममा परिसर प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए।

प्रहरी अनुसन्धानमा पाकेटमारका सांकेतिक भाषा (कोड वर्ड) कसरी प्रयोग गर्छन् भन्ने पनि खुलेको छ।

पकेटमार्ने क्रममा पैसालाई ‘द’ भन्ने गरेका थिए भने, धेरै पैसा भएको थाहा पाएमा ‘काशी’, केटालाई ‘छापा’ र पुलिस आयोलाई ‘ठूल्दाई’ जस्ता कोड भाषा प्रयोग गरेर पकेट मार्ने गरिएको पनि जनाइएको छ।

त्यस्तै कसैले आफूहरुबारेमा जानकारी पाएको र प्रहरी आएको सुइँको पाएमा गाडीबाट झरेर भाग भन्नेलाई ‘टप्की’ भन्ने भाषा प्रयोगगर्ने गरेको पनि जनाइएको छ।

पछिल्ला दिनमा उपत्यकाका सार्वजनिक स्थल, सार्वजनिक यातायात, मल, सपिङ कम्प्लेक्स, भिडभाडलगायतका स्थानमा पकेट मारिने क्रम बढेको भन्दै गुनासो आएपछि प्रहरीले पकेटमारविरुद्ध अभियान नै चलेको छ।

प्रतिक्रिया