इपीएल क्रिकेटः विराटनगरले हात पार्यो प्रतियोगितामै पहिलो जित, ललितपुर र चितवन भिड्दै


काठमाडौं – विराटनगर वारियर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौं किङ्स–११ लाई ७ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो ।

यस जितसँगै विराटनगरले सान्त्वना जित निकालेको छ । र, प्रतियोगिताको सुखद अन्त्य गरेको छ । विराटनगरले ५ खेलमा २ अंक जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर पुछारमा रह्यो ।

काठमाडौं ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि रहमानउल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाए । उनले १५ बलको समाना गर्दा एक छक्का र तीन चौका हिर्काए । २६ रनमा अविजित रहेका सुवास खकुरेलले १० बलमा तीन छक्का हिर्काए । राजु रिजालले २४ रन र रायन बर्लले १५ जोडे ।  विराटनगरका रायन पठानले २ तथा प्रतिस जिसीले १ विकेट लिए ।

यस अघि आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोडेको थियो। भिजेको आउट फिल्डको कारण ढिला खेल सुरु हुँदा ओभर घटाईएको हो । विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रनको योगदान गरे । उनले पंचा छक्का र दुई चौका प्रहार गरे । ओपनर रायन पठानले ११ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मदतमा ३० रन जोडे ।

कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनाल ५ रनमा अविजित रहदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए ।  काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए ।

अहिले ललितपुर प्याटियर्स र चितवन टाइगर्सबीच खेल हुँदैछ ।

प्रतिक्रिया