सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल गर्दै माओवादी केन्द्र


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आज (आइतबार) बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ ।

हिजो बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको बताउदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आज बस्ने बैठकमा त्यसबारेमा छलफल हुने बताए

हिजोको बैठकमा अखिल (क्रान्तिकारी) को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए । माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया