
आजदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष शुरु
काठमाडौं- आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ ।
तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध सुरु र अन्त्य हुने समय फरक हुन्छ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु गरी औँसीसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ । यो वर्ष आश्विन ११ गते आइतबारबाट सुरु भई आश्विन २४ गते शनिबार सकिनेछ ।
सङ्ग्रह ग्रन्थमा भनिएको छ – पिता, पितामह, माता, पितामही, प्रपितामही, सौते माता, मातामह, प्रमातामह, वृद्धप्रमातामही, पत्नी एवं पुत्र, पिताकी सौते आमा, आफ्ना दाजुभाइ र तिनका पत्नीहरू, पिता एवं माताका दिदीबहिनीहरू, आफ्ना दिदीबहिनी, तिनका पति र छोराछोरीहरू, आफ्ना गुरु एवं शिष्य, आप्त पितृहरू यी सबै माहालयश्राद्ध, तीर्थश्राद्ध र तर्पणविधिमा पितृदेवता मानिएका छन् ।
हामीले आमा बुबाको स्वर्गारोहण भएको तिथिमा गरिने एकोदृष्ट श्राद्धमा दिएको अन्न तथा जल बर्सभरि नै पितृहरूले प्राप्त गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ । सोह्र श्राद्धको समयमा आफ्ना आफ्ना पितृहरू घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेको छ । एउटा शास्त्रीय भनाई के रहेको छ भने गएको कुसे औँसीबाट नै पितृहरू घर वरपर आएर मेरा छोराहरूले तर्पण दिन्छन् दिँदैनन्, जल दिन्छन् दिँदैनन्, पिण्ड दिन्छन् दिँदैनन् भनेर बसिरहेका हुन्छन् ।



कागजपत्र |
