एमालेको विधान महाधिवेशन आज सकिँदै, केपी ओलीसहित शिर्ष नेताहरुले जवाफ दिने


काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो निष्कर्ष पेश गरेपछि अध्यक्ष केपी शर्मा ओली सहित शिर्ष नेताहरुले यसमाथि जवाफ दिनेछन्। त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।

जसमध्ये पाँच वटा समूहले हिजै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् । उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् ।

यसैगरि एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नु पर्ने निष्कर्ष पनि समूहगत छलफलले निकालेको छ । यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरुको निष्कर्ष छ । यसैगरी पार्टीबाट बाहिरिएका माधव नेपाललगायतका नेताहरुलाई निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने सुझाव पनि आएको छ ।

असोज १५ गतेदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया