माओवादीको स्थायी कमिटीमा अर्थमन्त्रीद्वारा संगठन व्यवस्थित गर्ने योजना पेस


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को संगठन विभागले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितका सुझाव स्थायी कमिटी बैठकमा पेस गरेको छ । संगठन विभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्माले योजना पेस गरेका हुन् ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेता देवप्रसाद गुरुङले संगठनलाई अझ व्यवस्थित पार्नका लागि संगठन विभागबाट सुझाव आएको बताए । ती प्रस्ताव स्थायी कमिटीले स्वीकार गरेको पनि गुरुङले जानकारी दिए ।

त्यस्तै, वर्षमान पुन नेतृत्वको समितिले माओवादीमा समाहित भएका विभिन्न पार्टी र व्यक्तिहरूलाई संगठनमा जिम्मेवारी दिनेबारेको प्रस्ताव पनि स्थायी कमिटीलाई बुझाएको छ । समितिको सुझावअनुसार पार्टीमा आएका ६ हजारभन्दा बढी कार्यकर्तालाई जिम्मेवारी दिने योजना रहेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

माओवादीले पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्याबारे पनि छलफल भएको बताइएको छ । नेता शाहका अनुसार करिब १२ सय प्रतिनिधिले राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया